(१) राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रको वनबाट प्रचलित कानून बमोजिम सङ्कलन गर्न पाउने जडीबुटीहरु सङ्कलन गर्न चाहने व्यक्ति वा संस्थाले जडीबुटीको किसिम, सङ्कलन क्षेत्र, परिमाण र सङ्कलन गर्ने उद्देश्य समेत खोली संरक्षक समक्ष निवेदन दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम पर्न आएको निवेदन उपर जाँचबुझ गर्दा माग बमोजिमको जडीबुटी सङ्कलन गर्न इजाजत दिन उपयुक्त देखिएमा अनुसूची–५क. मा उल्लिखित जडीबुटीको हकमा सो बमोजिमको दस्तुर समेत लिई तोकिएको क्षेत्र र परिमाणमा वर्षमा एक सिजनमा बढीमा तीस दिनको लागि अनुसूची–५ख. बमोजिमको ढाँचामा संरक्षकले जडीबुटी सङ्कलन गर्ने इजाजतपत्र दिन सक्नेछ ।
(३) उपनियम (२) बमोजिम प्राप्त जडिबुटी सङ्कलन गर्ने इजाजतपत्र बमोजिम सङ्कलन गरिएको जडिबुटी त्यस्ता इजाजतपत्रसँग भिडाई तथा सङ्कलन गरेको परिमाण जाँची संरक्षकले प्रचलित कानून बमोजिमको दस्तुर लिई अनुसूची–५ग. बमोजिमको ढाँचामा छोडपूर्जी दिनु पर्नेछ ।
(४) उपनियम (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि नेपाल सरकारले तोकेको जातको जडिबुटीको सङ्कलन तथा बिक्री वितरणको लागि संरक्षकले बोल कबोल प्रथाद्वारा सबैभन्दा बढी दस्तुर कबोल गर्ने व्यक्तिलाई इजाजत दिन सक्नेछ ।
(५) उपनियम (२), (३) र (४) मा जुनसुकै कुरा लेखिएको भए तापनि प्रचलित कानून बमोजिम सङ्कलन गर्न प्रतिबन्ध लगाइएका जडीबुटीको हकमा सङ्कलन इजाजत तथा छोडपूर्जी दिइने छैन ।
(६) कूनै व्यक्ति वा संस्थाले यस नियमावली बमोजिम सङ्कलन गरेको वा प्राप्त गरेको जडीबुटी मध्ये प्रचलित कानून बमोजिम विदेश निकासीमा प्रतिबन्ध लगाएको जटीबुटी बाहेक अन्य जडीबुटी विदेश निकासी गर्न निवेदन दिएमा संरक्षकले विदेश निकासी गर्ने अनुमतिका लागि सम्बन्धित भन्सार कार्यालयलाई सिफारिस गर्न सक्नेछ ।
(७) प्रचलित कानून बमोजिम नेपाल राजपत्रमा सूचना प्रकाशित भई सारतत्व निकालेर मात्र विदेश निकासी गर्न पाइने भनी उल्लेख भएका जडीबुटीको हकमा सोही सूचना बमोजिम हुनेछ ।